वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस भव्य रूपमा मनाउने तयारी

काठमाण्डौ, २१ चैत्र । सरकारले वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ ।

नेपालबाट प्रकाशित पहिलो समाचारपत्रको रूपमा गोरखापत्र प्रकाशन भएको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सञ्चार मन्त्रालयले बुधबार सर्वपक्षीय छलफल गर्दै पत्रकारिता दिवस भव्य रूपमा मनाउने जानकारी दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गोरखापत्र प्रकाशन भएको दिनलाई स्मरण गर्दै दिवस मनाउने भन्दै तयारी तिव्र गरिएको जनाएको हो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले मुलुकका विभिन्न क्षेत्रबाट आएका पत्रकारहरूको हौसला बढाउन दिवस मनाइने जानकारी दिए । उनले पत्रकारिता क्षेत्रको विकास र सम्मानका लागि दिवस मनाउन लागिएको बताए ।

बैठकमा सहभागीहरूले पत्रकारिता क्षेत्रको योगदानलाई कदर गर्दै सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउने तयारी गर्नु सकारात्मक भएको भन्दै यसका लागि सबैको सहयोग चाहिने बताएका थिए ।