६ महिनाभित्रै नेपालमा आधुनिक रेल कुदाउने मन्त्री महासेठको दाबी

काठमाण्डौ, २१ चैत्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने दाबी गरेका हुन् । जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म रेलमार्ग पुर्‍याउने र काठमाडौंबाट वीरगंज सोझै जोड्ने मार्ग बनाउने सोच बनाएको उनले बताए । उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए ।

नेकपा एमालेका नेतासमेत रहेका मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको बताए । यो पाँच वर्षभित्रमा आफूहरूले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ-टोललाई जोड्ने उनको भनाइ छ । नेपालको विकासमा भारतको पौराणिककालदेखि सहयोग रहँदै आएको भन्दै उनले ऐतिहासिक र सुमधुर सम्बन्धलाई कायम राख्दै यो सरकार अझै धेरै मित्रताको अपेक्षासहित भारत भ्रमणमा जाने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणका टोली सदस्यसमेत रहेका मन्त्री महासेठले यस पटकको भ्रमणमा सन्धि-सम्झौता हुने संभावना आफूले कमै देखेको बताए । मन्त्री महासेठले प्रधानमन्त्रीको भारत भ्रमणमा देश र जनतालाई अहित हुने गरी कुनैपनि सम्झौता नहुने धारणा राखे ।