Breaking News

टुरिष्ट बसमै रक्तचन्दनको तस्करी

काठमाण्डौ, २१ चैत्र । नयाँ दिल्ली – काठमाडौं चल्ने टुरिष्ट बसमा प्रतिबन्धित रक्तचन्दनको तस्करी हुने गरेको पाइएको छ ।

काठमाडौं प्रहरीले दुई दिनसम्म बसको खानतलासी गरेर अन्ततः फल्स बटनमा लुकाएर ल्याएको अवस्थामा रक्त चन्दनको तयारी सामान बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गर्दै दिल्लीबाट आएको ना ४ ख ४५१६ नम्बरको बस कल‌ंकीमा नियन्त्रणमा लिएर प्रहरीले खान तलासी सुरु गरेको र बसमा रक्त चन्दन भेटिएको जनाएको हो ।

मंगलबार दिनभर चेक गर्दा कर छली गरेर ल्याइएका कपडाबाहेक अरु भेटिएको थिएन । तर बुधबार बिहान विभिन्न पार्टपुर्जा खोलेर हेर्दा करिब १० केजी सात सय ७५ ग्राम तौल बराबरको रक्त चन्दनका तयारी सामानहरू लुकाएर ल्याइएको भेटिएको परिसरका प्रमुख एसएसपि विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले बसका चालक काभ्रे घर भई हाल नैकाप बस्ने झिल्केमान रुम्वा र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएपनि सवारी धनी र रक्तचन्दनका मालिकबारे केही खुल्न नसकेको पोखरेलले बताए ।

प्रहरीले रक्तचन्दनका भाँडा, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएका १३ सय २ दाना गेडा बरामद गरेकाे छ । सोही बसबाट अवैध रूपमा ल्याइएका कपडा तथा बिजुलीका सामानहरू पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको रक्त चन्दनका सामान आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको छ ।

shares