३ वर्षमा देश विकासशील बन्छ: प्रधानमन्त्री

काठमाण्डौ, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा सुरु दोस्रो सहकारी महासम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले श्वेतपत्रमा उल्लेख गरिएको अप्ठेरो आर्थिक अवस्थालाई सुधार गर्ने भन्दै वर्तमान सरकार विकासप्रति प्रतिबद्ध रहेको बताए । उनले देशलाई तीन वर्षमा विकासशील बनाउने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्न सरकार कटिबद्ध रहेको पनि उल्लेख गरे । वर्तमान सरकार यसअघिका सरकारजस्तो जोडजाम गरी नबनेको भन्दै आर्थिक समृद्धि र सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विकासका लागि जो जहाँ छौँ त्यहिँबाट सुरुवात र सहयोग गर्न पनि सबैलाई आग्रह गरे । सरकार सहकारी आन्दोलनमा साथसाथै रहेको भन्दै उनले योजना र प्रतिबद्धताका साथ काम गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनहरूमा सहकारीका माध्यमबाट देशको गरिबी र पछौटेपनको न्यूनिकरण गर्दै अघि बढ्नका निम्ति सहकारीले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

महासंघका अनुसार अहिलेसम्म मुलुकभरका कुल ३४ हजार ५ सय १२ वटा सहकारीले ३ खर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् भने २ खर्ब ७३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । ती सहकारीमा ६३ लाख ५ हजारभन्दा बढी आबद्ध छन् भने ६० हजारभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।

सम्मेलनमा सहकारी उत्पादन तथा सेवाको प्रदर्शनीका लागि कुल २१ वटा स्टल राखिएको छ । त्यस्तै सम्मेलनमा देशका ७३ जिल्लाबाट तथा देशविदेशबाट करिब १ हजार सहकारीकर्मीको उपस्थिति रहेको छ । सम्मेलन बिहीबार सम्पन्न हुने महासंघले जनाएको छ ।