एमाले संसदीय दलको उपनेतामा नेम्वाङ र प्रमुख सचेतकमा अधिकारी चयन

काठमाण्डौ, २१ चैत्र । नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवास नेम्वाङलार्इ चयन गरेको छ ।

एमाले संसदीय दलको बुधबार दिउँसो बालुवाटारमा बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।

त्यसैगरी, बैठकले एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा एमाले संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताएका थिए । उनले भारत भ्रमणको क्रममा देशको हित हुने सम्झौताहरू मात्र हुने एमाले सांसदहरूलाई बताउनुभएको नेम्वाङले बताए ।

यस्तै बुधबार नै बसेको एमाले स्थायी कमिटीको बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो ।