Breaking News

पानी पकाएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न

-संकेत कोइराला

सन्दर्भ ६ दशकअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डा दिए । कोइरालालाई नेहरुको शैली पचेन । उनले तत्काल प्रतिवाद गरे– ‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले स्वतन्त्र मुलुकको सरकार प्रमुखसंग वार्ता गर्ने विषयमा उ आफैं सक्षम छ । त्यसैले मलाई कुरा गर्न सिकाउन जरुरी छैन ।’ यही भ्रमणमा भारत निकट मानिने सरकारका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई कोइरालाले भ्रमण दलको सदस्य बनाएर त लगे । तर उपाध्यायलाई द्विपक्षीय वार्तामा समावेश गरिएन । बरु बालक छोरो प्रकाशको हेरालु बनाएर होटलमै छोडियो । यो प्रकरणबाट आगो भएका नेहरुले तत्काल राजा महेन्द्रसंग सम्बन्ध बढाएर बीपीको पखेटा काट्ने काम श्रीगणेश गरे । सबैलाई हेक्का छँदैछ, त्यसपछि ०१७ सालको नाटक पूर्वाभ्यासको नर्सरी विरुवा यहीँबाट रोपियो । नेहरु डक्टिन यस्तो खतरनाक थियो, जसले हिमालय पर्वतलाई भारतको अन्तिम सीमारेखा ठान्थ्यो । छोरी ईन्दिरा गान्धीको शासनकालमा नेपालप्रतिको हेपाहा दृष्टिकोण झन् लाभा बनेर प्रकट भयो ।

देश समृद्ध हुन ठूलो भइरहन जरुरी छैन । काठमाडौं जत्रो सिंगापुरका जनताले भीसाका लागि संसारका कुनै देशमा लाईन लाग्न जरुरी छैन । बरु ‘मेरो देशमा पाइला टेकिदेउ’ भनेर रातो कार्पेट विछ्याउनेको ओइरो छ । एउटा दलदले जमिन स्वर्ग बनाउने लिक्वान युमा माइक मेनियाको भूत कहिल्यै सवार भएन । बरु देश निर्माणको भिजनका विषयमा सबैका भनाइ सुन्थे । विद्वत समूहसंग बहस गर्थे । अन्तिममा उनको एउटै जिज्ञासा हुन्थ्यो– ‘यो निर्णय गर्दा सिंगापुरले कति पाउँछ, कति गुमाउँछ ?’ जब गुमाउने बद्लामा पाउने पल्ला भारी भएको निष्कर्ष निस्कन्थ्यो, उनी आँखा चिम्लिएर ल्याप्चे लगाउँथे ।

नेपालीको मानस्पटलमा दरिद्र मुलुकको दृश्य घुम्ने इथियोपिया दोहोरो आर्थिक वृद्धि दरको बाटोमा लागिसक्यो । अहिले त्यहाँ विकासको विकल्प विकास मात्र देख्न पाइन्छ । इथियोपियाबाट थाइल्याण्ड दैनिक सीधा हवाई सेवा छ । यो यथार्थसंग कति नेपाली जानकार छन् ? आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन । जसले प्रयत्न गर्‍यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं । यो पुस्तौं पुस्ताबाट हुँदै आएको गल्ती हो । सबैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं । चन्द्र सूर्य अंकित झण्डाको कपडामा गलफत्ती गर्‍यौं । स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा गर्‍यौं । गाईको मासुका विषयमा वाकयुद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेहरूको अनुहार सम्झिन दरकार राखेनौं । सबै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो ।

चालीस लाख नेपाली मुलुक बाहिर छन् । हो, संसार गाउँ बनेको अवस्थामा जो जहाँ जान, कर्म गर्न र पढ्न स्वतन्त्र छन् । तर ३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ? कचौरा जत्रो देशमा खेलकुद टुँडिखेलभन्दा ठूलो भयो । सबैथोकको सट्टा अर्ती उत्पादन हुनथाल्यो । फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थ प्रेरित वाणीहरुको विस्कुनमा सबै रमाए । व्यक्तिपिच्छेका प्रवक्ता जन्माइए । विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो । राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो । दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो । बरु नेताको आतेजाते, लवाई खवाई, बसाईको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै उसंग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो ।

विश्वमा एक देशबाट अर्को देशमा काममा जानु अब सभ्यताभित्र पर्छ । तर नेपाली मात्र त्यस्ता कामदार हुन, जसलाई मजदुरीभन्दा नेतागिरीको भोक छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन् । उनले दाजुको फूर्ती लगाएको समाचार मिडियामा कहिल्यै सार्वजनिक भएन । दाजु अमेरिकाको राष्ट्रपति हुँदा जागिर छोडेर किचेन क्याबिनेटको धूनी बाल्न अमेरिका फर्किएको खबर पनि कतै सुनिएन । बरु बाइबल समाएर अमेरिकी राष्ट्रपतिको त्यो सर्वोच्चताको धरहरा चढेका बाराक ओबामाले मारिया र हनुमानको लकेट आफूसंग चौबीसै घण्टा खल्तीमा रहने गरेको बताएर विश्वलाई चकित बनाए । भारतका वैज्ञानिक राष्ट्रपति अब्दुल कलामको बिहानी सत्र सितारमा रामधून बजाएर सुरु, नमाज पढेर अन्त्य हुन्थ्यो । यी सत्य हाम्रा निम्ति प्रेरक नभएर गाईको मासुमा किन अल्मलियौं ? यी सबै गतिविधि काम नपुगेको छटपटी हो । सबैलाई अर्गानिक दूध चाहिने, गाई पाल्नु नपर्ने । विशुद्ध अन्नपात चाहिने, खेत बाँझो राख्ने । सीप गाडी चलाउने, सोख जहाज उडाउने । खानुपर्ने अम्लेठ, फुटाउन नदिने अण्डा । यस्तै अप्राकृतिक गतिविधिमा रम्नु दैनिकी बन्दै गयो ।

आफ्नो देशमा प्रदूषणका कारण हुस्से लाग्ने क्रम बाक्लिन थालेपछि भारतले दिउँसै हेडलाईट बल्ने मोटरसाइकल बजारमा ल्यायो । भारतको बजारमा पानी परेपछि नेपालमा छाता ओढ्नुपर्‍यो नै । आखिर दिउँसै हेडलाईट बल्ने मोटरसाइकल नेपालको सडकमा बग्रेल्ती देखिए । ब्रिटिस उपनिवेश बनेको भारतमा गोराहरूले दाहिने स्टेयरिङ भएको गाडी चलनमा ल्याए । त्यही सक्कल बम्मोजिम नक्कल नेपालमा उत्रियो । हिन्दी सिनेमा हल गएर हेर्ने सम्मानित नेपाली नागरिक दरिन्छ । हिन्दी गीत हुबहु गुनगुनाउने अब्बल कलाकार प्रमाणित हुन्छ । चारधाम घुमेर आउनेको स्वर्ग सुरक्षित हुन्छ । काशीमा गएर पिण्ड बाट्नेले पितृका लागि थप भार उठाउनु पर्दैन । अलि कम्मर मर्काउने छोरो जन्म्यो भने सिधै शाहरुख खानसंग तुलना गरिन्छ । तर नेपाली नेता भारत छिर्यो कि त सीधै अपराधीको दर्जामा राखिन्छ ।

राष्ट्रियताको परिभाषा विचित्रको छ । एउटा नर्सरी पढ्ने भारतीय बालकले तोते बोली फुट्नासाथ जानेको डाइलग हो– ‘दूध मागे तो खिर देंगे, कस्मिर मागे तो चिर देंगे ।’ माटोप्रतिको ममता हाम्रो भूमिमा शून्य छ । बोर्डिङ पढ्ने छोरोले टाइगर भन्यो त ठीक छ, झुक्किएर बाघ उच्चारण गर्‍यो भने लगानी डुबेको सम्झिएर बाउआमाको रोइलो सुरु हुन्छ । ठेट्ना मकै अखाद्य, पपकर्न प्रिय मानिने दर्शन कहाँबाट सुरु भयो । आलु कोक्याउने, चिप्सले जीब्रो लठ्याउने, यो संस्कार राज्यले बसाएको कि जनताले ? भारत, चीनका कारण समस्यामा जाकिने हैन । समस्या त सोचमा हो । खसी, कुखुरा, गाई, गोरुको मासुमा हामी विभाजित हुन्छौं भने त्यसको दोषी को ? आफ्नो आँगन फोहोर गरेर अरुलाई बढार्न प्रोत्साहित गरेपछि हस्तक्षेपको राग अलाप्न मिल्छ ? सत्य के हो भने पकाएर पानी बाक्लो र फकाएर मान्छे आफ्नो किमार्थ हुन्न ।

प्रधानमन्त्री केपी ओली भारत जाँदै हुनुहुन्छ । भ्रमणलाई लिएर नाफा घाटाका क्याल्कुलेटर थिच्न सुरु भएको छ । एकपल्ट त्यो समय स्मरण गर्न जरुरी छ, जुनबेला बीपीले भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका नेता केशरजंग रायमाझीलाई बोलाएर १० हजार दिँदै भनेछन्– ‘यो पैसा लिनुस् र मेरा विरुद्ध नारा जुलुस गराउनुस् । जसका कारण मैले तपाईंहरूलाई देखाएर भारतबाट बढीभन्दा बढी राष्ट्रिय हितमा काम गरेर फर्कन सकौं ।’ नियतिले ओलीलाई बीपीकै हाराहारीमा शक्तिशाली बनाएको छ । यसैको फोटोकपी गर्न त युगअनुकूल हुन्न, तर समस्याका प्रकृति फेरिएका छैनन् । अब उधारोमा सम्झौता गरेर झुक्याउने दिन गए । यो सत्यलाई आत्मसात गर्न जरुरी छ । मानिसले सोचेको विषय त गोपनीयता नहुने समयमा गरिएका सन्धि, सम्झौता, दिएका बचन गोप्य रहलान् भनेर सोच्नु नै गलत हो ।

यतिमात्र सोचिदिए पुग्छ– फलाम कमजोर हुने अरुले नभएर आफूभित्रै उत्पन्न हुने खियाले हो । अहिले अति समृद्ध मुलुक जापानको संविधान अमेरिकाले बनाइदिएको हो । अमेरिका नै त्यो देश हो, जसले जापानमा एटम बम खसालेर लाखौं निर्दोष जापानीको ज्यान लिएको थियो । तर त्यो देशमा अमेरिका विरुद्ध प्रदर्शन भएको कसैलाई थाहा छैन । एक जापानी नागरिकलाई सोधियो– ‘यत्रो अप्रिय इतिहास हुँदा पनि जापानी नागरिक किन कहिल्यै अमेरिका विरुद्ध प्रदर्शन गर्दैनन् ?’ उसले दृढतापूर्वक जवाफ दियो– ‘आफ्नो देशमा आफ्नो शत्रुको विरोध गरेर लफडाबाजी गर्नु ती कमजोर निकम्माको कर्म हो । जो वास्तवमा केही गर्न चाहँदैनन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा जापानमा बनेका टेलिफोन, टीभी सेट राखिएका छन् । यो नै हाम्रो विजय र बदला हो ।’ नेपालको सेतो सुन मानिने पानीबाट उत्पादन भएको बिजुलीको उज्यालोमा उभिएर भारतीय नेताले भर्चुअल बैठक गरेका दिन नेपाली मुटु नाङ्लोभन्दा फराकिलो हुने थियो । त्यो जवाफ अमेरिकासंग जापानले पत्थरको बदला फूल दिएको भन्दा कम कहाँ हुन्थ्यो र ?

यो पनि पढ्नुहोस्-

ढोंगीभन्दा जोगी बन्नु जाति

shares