प्रधानमन्त्रीलार्इ पूर्वप्रधानमन्त्रीहरूको सुझाव

काठमाण्डौ, २१ चैत्र । पूर्वप्रधानमन्त्री, प्रवुद्ध वर्ग र परराष्ट्रविद्हरूले विगतमा भारतसँग भएका द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरूले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीे आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रूपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिएको बताएका थिए । बैठकपछि एमाले नेता राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव आएको जानकारी दिए ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्दलगायत सहभागी थिए । त्यस्तै छलफलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रवुद्ध वर्गका सदस्य तथा परराष्ट्र मामिलाका जानकार भेषबहादुर थापा, निलाम्बर आचार्यलगायत पनि सहभागी थिए ।