Breaking News

पार्टी एकताका लागि माअोवादीभित्र गृहकार्य तीव्र

काठमाण्डौ, २१ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी बैंशाख ९ गते एमालेसंग पार्टी एकता गर्नेगरि छलफल तीब्र भइरहेको बताएका छन् ।

माओवादी संसदीय कार्यालय सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा एकता प्रक्रियाका बारेमा जानकारी गराउँदै दाहालले एकताका लागि गृहकार्य तीव्र रूपमा भइरहेको बताएका हुन् ।

बैठकमा अध्यक्ष दाहालले कार्यदलबाट प्रतिवदेन प्राप्त भइसकेको यसमा आन्तरिक अध्ययन गर्दै भोलि बिहीबार पार्टी एकताको मिति औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभएको माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।

आगामी वैशाख ९ गते पार्टी एकीकरणको तयारी भएपनि माओवादी केन्द्रले सम्मानजनक हैसियतमा पार्टी एकिकरण हुनुपर्ने बताउँदै आएको छ । बैठकले दलको विधान संशोधनको विषय अध्ययन गर्ने र त्यसपछि मात्रै पारित गर्ने निर्णय गरेको नेता शर्माले बताए ।

त्यस्तै बैठकमा सांसदले दलको सञ्चालन, संसद बैठकमा निभाउनुपर्ने भूमिका लगायतका विषयमा पनि अध्यक्ष दाहालले निर्देशित गर्नुभएको शर्माले बताए ।

shares