Breaking News

खुकुरी प्रहारबाट २ प्रहरी गम्भीर घाइते

झापा, २१ चैत्र । खुकुरी प्रहारबाट झापाको भद्रपुरमा दुई प्रहरी गम्भीर घाइते भएका छन् । प्रहरीमाथि खुकुरी प्रहार गर्ने भद्रपुर ४ स्थित महेशपुर निवासी अन्दाजी ३३ वर्षीय सुभाष राईलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकी इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घाइते प्रहरी सहायक निरीक्षक खवासको टाउकोमा र प्रहरी जवान पोखरेलको देब्रे हात र टाउकोमा चोट लागेको छ । घाइतेमध्ये प्रहरी जवान पोखरेलको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार संम्भव नभएपछि दुवै प्रहरीलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको जनाइएको छ । प्रहरीको अनुसार भद्रपुर ४ स्थित महेशपुरमा लागेको पुराण स्थलमा मंगलबार साढे ९ बजे राईले गस्तीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार गरेको थिए ।

shares