Breaking News

‘प्रधानमन्त्री अोलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने’

काठमाण्डौ, २० चैत्र । नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले नेपाल–भारतबीच धेरै आयामहरू भएको समेत बताए ।

नेता महतले नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाए । नेपालले भारतीय र चीनीयाँ दुवै राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरू तर्कसंगत रूपमा राख्न सक्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै नेकपा एमालेका नेता आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । भारतले कबुल गरेका कुराहरू अहिलेसम्म कार्यान्वयन नभएकोले प्रधानमन्त्रीले यो विषयमा पनि कुरा राख्नुपर्ने उनको धारणा थियो ।

माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणमा अहिलेसम्म भएका सम्झौताहरू कार्यान्वयनमा जोड दिनुपर्ने बताए । भारतसँग रहेको ६१ प्रतिशतको व्यापार घाटा कम गर्नको लागि नेपालले कृषिमा आधुनिकिकरणमा जोड दिनुपर्ने क्षेत्रीले बताए ।

shares