Breaking News

भारतबाट राजश्व छली गरी ल्याइँदै गरेको विभिन्न सामान बरामद

अमित पोखरेल/काठमाण्डौ, २० चैत्र । काठमाडौं प्रहरी परिसरले ठूलो परमाणमा भारतबाट राजश्व छली गरी नेपाल ल्याइँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट ठूलो परिमाणमा महिलाले लगाउने कुर्ता–सुरुवाल, स्याण्डल, चप्पल, पुरुषको सर्टसँगै बिजुलीका समानहरूसमेत बरामद गरिएको हो । बसको विभिन्न भागहरूमा ‘फल्स वटम’ बनाएर झण्डै २५ सय थान कुर्ता–सुरुवाल, ७ कार्टुन बिजुलीका विभिन्न सामानलगायत ठूलो परिमाणमा लत्ताकपडा बरामद गरिएको छ ।

कालीमाटी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको टोलीले विशेष सुराकीका आधारमा काठमाडौंको कलंकीबाट उक्त बससहित चालक र सह–चालकलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक विश्वराज पोखरेलले बताए ।

बसका सह–चालक रुपन्देहीको बुटवल घर भएका २५ वर्षीय सुजन पुन र चालक काभ्रे घर भएका ४१ वर्षीय झिल्केमान रुम्जालाई हिरासतमा लिई थप अनुसन्धान सुरु गरिएको पोखरेलले जानकारी दिए । गाडीमा सामान हाल्ने अर्का सहचालक भएको र उनी प्रहरीलाई देख्नासाथ भागेको उनको भनाइ छ । उक्त सामानको मालिक आफैं आएर ती सामान लिएर जाने गरेको उनले बताए ।

नेपालगंजको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेको उक्त बस चैत १९ गते दिल्लीबाट काठमाडौंका लागि छुटेको थियो ।

shares