Breaking News

दुवै छिमेकी देशहरूसँग सन्तुलित र समदुरीको सम्बन्ध रहन्छ: प्रधानमन्त्री

काठमाण्डौ, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी देशहरूसँग नेपाल सरकारले बराबरीको सम्बन्ध कायम गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विषेश समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले नेपालको समग्र हितलाई मध्यनजर गर्दै चीन र भारतसँग सन्तुलित र बराबरीको सम्बन्ध कायम गर्ने बताएका हुन् । उनले संसदलाई आफ्नो ३ दिने राजकीय भारत भ्रमणबारे जानकारी दिंदै विकासका साझेदारका रूपमा छिमेकीहरूसँगको सम्बन्ध अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले नयाँ सम्झौता गर्नेभन्दा पनि भारतसँग विगतमा भएका पुराना सम्झौताहरू कार्यान्वयन गराउनेतर्फ आफू केन्द्रीत हुने उल्लेख गरे । ऊर्जा उत्पादन र दुई देशबीचको व्यापारका सम्बन्धमा समेत आफ्नो भ्रमण केन्द्रीत गर्दै व्यापार घाटा सन्तुलनमा ल्याउने कुरामा आफू केन्द्रीत हुने ओलीको भनाइ छ ।

प्रधानमन्त्री अोलीले पंचेश्वर जलविद्युत परियोजनाका काम अघि बढाउने विषयमा पनि प्रयास अघि बढाउने बताए । भुकम्पपछिको पुनर्निर्माणमा भारतले गरेको प्रतिबद्धता कार्यान्वयन गराउने तथा भारतले गरेको प्रतिबद्धताअनुसार काम नभएको भए त्यसलाई कार्यान्वयन गराउन पनि आफूले छलफल गर्ने ओलीको भनाइ छ ।

वर्तमान सरकारलाई संसदमा अत्यन्त ठूलो समर्थन र विश्वास रहेको दाबी गर्दै ओलीले आफ्नो सरकारले सुशासन, स्वच्छता, पारदर्शिता, कानूनको राज र विकासतर्फको यात्रा अघि बढाउने बताए ।

समकक्षी नरेन्द्र मोदीको निम्तामा प्रधानमन्त्री ओली २३ देखि २५ चैतसम्म भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा मोदीसहित भारतका राष्ट्रपति, उपराष्ट्रपतिलगायतसँग उच्च स्तरको भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

shares