Breaking News

निगमले जुन १५ सम्म नयाँ एयरबस जहाज भित्र्याउने

काठमाण्डौ, २० चैत्र । नेपालको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नेपाल वायुसेवा निगमले जुन १५ सम्म एउटा एयरबस जहाज भित्र्याउने भएको छ ।

निगमका प्रमुख सुगतरत्न कंसाकारले आगामी जुन १५ सम्म एउटा एयरबस जहाज आउने र त्यसको केही समयपछि अर्को आएपछि निगमले चुस्तदुरुस्त सेवा दिने बिश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले समयमै उडान नहुने गरेको गुनासो अन्तराष्ट्रिय उडानतर्फ भन्दा पनि डोमेस्टिकमा रहेको भन्दै थप जहाज ल्याएर समाधान गरिने स्पष्ट पारे ।

डेढ वर्षभित्र ६ वटा नयाँ विमान ल्याउने योजना रहेको सुनाउँदै कंसाकारले ६ वटा ट्वीनअटर र २ वटा न्यारोबडी विमान ल्याएपछि अहिलेका गुनासा हट्ने दाबी गरे । यसका लागि प्रक्रिया सुरु भैसकेका उनको भनाइ छ । विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग पहिलो चरणमा कुरा भैसकेको र ऋण दिन उनीहरू सकारात्मक भएको उनले जानकारी दिए ।

कंसाकारले १८ महिनापछि निगमसँग रहेका सबै पुराना विमान लिलाम गरेर नयाँ खरिद गर्ने योजना रहेको बताए । त्यस्तै उनले पाईलटको अभाव हुन नदिन निगमले पाईलट छनौट कार्यलाई पनि तिव्रता दिने उल्लेख गरे । ८ वटा विमान खरिद गरिसकेपनि प्रत्येक वर्ष कम्तिमा दुुईटा विमान थप्दै जानुपर्ने धारणा राख्दै उनले विमान खरिद गर्दा इन्जिन मर्मतका लागि विदेशी कम्पनीलाई जिम्मा दिनेगरी छलफल भैरहेको बताए ।

shares