श्वेतपत्रका विषयमा उठेका प्रश्नहरूको छिट्टै समाधान हुन्छ: अर्थमन्त्री

काठमाण्डौ, २० चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले चाँडै संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा श्वेतपत्रका विषयमा उठेका प्रश्नहरूको समाधान हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको प्रष्टीकरण दिँदै एउटा कालखण्डको समीक्षामात्र गरिएको बताए । श्वेतपत्रबारे थप छलफल गर्न सकिने उनको भनाइ छ ।

सामाजिक तथा पूर्वाधारको क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन थालेको भन्दै अर्थमन्त्री डा. खतिवडाले राज्यका दायित्वहरू असीमित तर स्रोतसाधन सीमित रहेको धारणा पनि राखे ।

बजेटको स्थितिबारे सांसदहरू जानकार हुनुपर्ने भन्दै उनले अहिले केही बचत देखिएपनि आर्थिक वर्षको अन्त्यमा स्थिति भयावह हुने आँकलन गरिएको उल्लेख गरे । उनले निजीकरणको विषयमा पर्याप्त बहस गर्न सकिने भन्दै बन्द अर्थतन्त्रको पक्षमा सरकार नभएको स्पष्ट पारे ।