Breaking News

निर्माण थालनी भएको २३ वर्षपछि सडक कालोपत्रे सुरु

गार्इघाट, २० चैत्र । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण सुरु भएको छ ।

२३ वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य सुरु भएको हो । गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो ।

पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रे कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताए ।  नेपाल सरकार सडक विभागको रु ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक सो सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने कार्य औपचारिक रुपमा सुरु भएको हो ।

सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी काम थालेका कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले बताए । अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रे गर्ने कार्य अभियान प्रारम्भ भएको पनि गाईघाटदिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ ।

तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट–दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि उक्त सडक निर्माण कार्य सुरु भएको थियो । अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुन नसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन ।

यस्तै, सडकखण्डअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायी बताउँछन् । ढिलै भएपनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा सो सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रे औपचारिक कार्य सुरु भएको हो। -रासस

shares