भूकम्प पीडितलाई दोस्रो किस्ताको रकम लिन समय थप

काठमाण्डौ, २० चैत्र । सरकारले भूकम्प प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम लिन फेरि तीन महिनाको समय थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले आउँदो असार मसान्तसम्ममा भूकम्प प्रभावितले दोस्रो किस्ताको रकम लिन सक्ने निर्णय गरेको हो । यसअघि चैत मसान्तसम्मको समय रहेकोमा तीन महिनाको समय थपिएको प्राधिकरणका कार्यकारी प्रमुख युवराज भूषालले जानकारी दिए ।

यस्तै, चैत मसान्तमा संघीय संरचना खारेज भएपनि पुननिर्माणका काममा निजी आवास, स्वास्थ्य चौकी र शिक्षासम्बन्धी इकाई भने खारेज नहुने पनि बैठकले निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षा अगावै भूकम्पपीडितलाई ओतमुनि ल्‍याउन पुनर्निर्माण प्रधिकरणलाई निर्देशन दिएका थिए ।

बैठकले भूकम्प-प्रभावित जनताको आवास निर्माणका लागि केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गरेर अघि बढ्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको भूषालले बताए ।

प्राधिकरणका अनुसार अहिलेसम्म १ लाख १३ हजार ८ सय ६२ घर निर्माण कार्य सम्पन्न भइसकेका छन् भने ३ लाख ९४ हजार ८ सय ७८ घर निर्माणाधीन अवस्थामा रहेका छन् ।