Breaking News

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यस्ता छन् अन्य निर्णय

काठमाण्डौ, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैत २३ देखि २५ सम्म हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो । बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरू भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए । उनले मन्त्रीहरूको नाम पछि सार्वजनिक गरिने पनि बताए ।

यस्तै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ । बैठकले भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी ऐन तथा फर्छ्यौट विद्येयकलाई पनि स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले महान्यायधिवक्तको नेतृत्वमा रहेको विधेयक तयारी सहजीकरण समितिमा कमलशाली घिमिरेलाई नियुक्त गरेको छ भने एडीबीको १ अर्ब रूपैयाँको पानी परियोजना अनुदान रकम स्वीकृत गरेको छ । यस्तै आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्तसम्म लागु हुने गरी थप गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।

त्यस्तै मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास गठन समितिको कानुनी प्रावधानसमेत बैठकले स्वीकृत गरेको छ ।

shares