डा. सन्दुक रुइतलाई भारतको प्रसिद्ध ‘पद्मश्री अवार्ड’ प्रदान

काठमाण्डौ, २० चैत्र । नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले प्रसिद्ध पुरस्कार ‘पद्मश्री अवार्ड’ प्रदान गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले सोमबार उनलाई पद्मश्री अवार्ड प्रदान गरेका हुन् । आँखाको दुर्लभ शल्यक्रियाद्वारा प्रत्येक हप्ता २ हजार ५ सय बिरामीलाई आँखाको ज्योति फर्काउन सफल डाक्टर रुइतलाई उक्त अवार्ड प्रदान गरिएको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले डा.रुइतलाई सम्मान गरेको हो । डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको दाबी गरेको छ ।

भारतीय एम्स कलेजका पूर्व विद्यार्थीलाई अवार्ड प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ताप्लेजुङको विकट गाँउ ओलाङचुङगोलामा जन्मिएका डा. रुइत सन् २००६ मा म्यागासेसे पुरस्कारबाट पुरस्कृत भएका थिए । उनले गरिब जनताका लागि पनि निःशुल्क सेवा प्रदान गर्दै आएका छन् ।