Breaking News

क्रिकेट रंगशालाको जग्गा हेर्न सैनामैना पुग्यो धुर्मुसको टोली

रुपन्देही, २० चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गा अवलोकन गर्न हिंडेको कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित लम्टिया खेल मैदान छनौट गरेको छ ।

काठमाण्डौलगायत देशका विभिन्न ठाउँहरूको अवलोकन गरिसकेको प्राविधिक रविभूषण झासहित पुगेको टोलीले टोलीले अन्ततः लम्टिया खेल मैदान उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

अन्तर्राष्ट्रिय स्टेडियम ४० हजार जना दर्शक क्षमताको हुनु पर्दछ । लम्टिया खेल मैदान ६५ बिघा क्षेत्रफलको रहेको छ । यो खेल मैदान भैरहवा विमानस्थलबाट करिब ३५ किलोमिटर, बुद्ध जन्मस्थल लुम्बिनीबाट १६ किलोमिटर, पुर्व–पश्चिम लोकमार्गको रामापुर कलौनीबाट २ किलोमिटर दक्षिणमा र रामापुर–लुम्बिनी दुई लेन सडकखण्डको डेढसय मिटर पुर्वमा अवस्थित छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेलगत्तै सैनामैना नगरपालिकाले लम्टिया खेल मैदानको ६५ बिघा जग्गा उपलब्ध गराउने सार्वजनिक घोषणा गरेको थियो । अन्तराष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन पर्याप्त जग्गा आवश्यक हुने हुनाले यो ठाउँ उपयुक्त हुने ठानेर धुर्मुस सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने निर्णय गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

अन्य स्थानमा पनि जग्गा हेरेपछि प्राविधिकहरूको प्रतिवेदनका आधारमा उपयुक्त ठाउँ छनोट गर्ने फाउण्डेसनका सिताराम कट्टेलले बताए । यसपछि प्राविधिक र कलाकारसहितको टोलीले चितवनमा जग्गा अवलोकन गर्ने प्राविधिक झाले जनाए ।

shares