गृहमन्त्रीले सार्वजनिक गरे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’

काठमाण्डौ १९ चैत्र । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेका छन् । साेमबार गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरुकाबिच गृहमन्त्री थापाले सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् ।

सुधार कार्ययोजना सार्वजनिक गर्दै थापाले गृह प्रशासनमा व्यापक सुधारको खाँचो रहेको भन्दै सुधारका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिएका छन । थापाले मन्त्रालयअन्तर्गतका सबै निकायमा थुप्रै बेथिति रहेको भन्दै सुधारका लागि कर्मचारीले आफूलाई तयार राख्नुपर्ने बताए ।

गृहमन्त्री थापाले अहिले भन्सारका नाकाबाटै अर्बैंको दरमा तस्करी भइरहेको बताउँदै तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कदम चाल्ने पनि बताए ।

भ्रष्ट र तस्करहरुमाथि दमन चलाएर गृहमन्त्रालयमार्फत नयाँ क्रान्तिको शुरुवात गरिने थापाकाे भनाई थियो । पछिल्लो समय सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुप्रति जनताको बितृष्णा बढेको तथा जनताले सेतो नम्बर प्लेट भएको गाडी देख्नेवित्तिकै ढुंगा हान्ने भयले कर्मचारीहरुमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गर्ने प्रचलन बढेको गृहमन्त्रीले बताए ।

उनले प्रहरीमा ३० वर्षे सेवा अवधि ठूलो समस्याको रुपमा रहेको भन्दै त्यसलाई समयानुसार परिमार्जन गर्नका लागि तयारी भइरहेको पनि जानकारी दिए । यातायातका क्षेत्रमा देखिएको आलोपाले प्रणाली (सिण्डिकेट) तोडेरै छाड्ने गृहमन्त्री थापाले प्रतिबद्धता व्यक्त गरे ।

सुधार कार्ययोजनामा आफ्नो मातहतका निकायहरुबाट हुने २५ हजारभन्दा माथिको खर्च विवरण वेबसाईटबाट सार्वजनिक गर्नु पर्ने उल्लेख छ । सुधार योजना अनुसार २०७५ असार मसान्तसम्ममा हरेक स्थानीय निकायमा एक प्रहरी ईकाइ रहने व्यवस्था मिलाइने भएको छ ।

यस्तै २०७५ वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने छ । कार्ययोजनामा सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेट आउँदो असार मसान्तभित्र अन्त्य गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै हरेक जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकिने र त्यहाँबाहेक अन्यत्र विरोध प्रदर्शन गर्न नपाउने नियम बनाइने कार्ययोजनामा उल्लेख छ ।

पूर्णपाठ पढन तलकाे लिंकमा क्लिक गराैं ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४