पहिलो अार्थिक गणनालार्इ सफल बनाउन व्यवसायीलार्इ अाग्रह

काठमाण्डौ, १८ चैत्र । जिल्ला आर्थिक गणना समन्वय समितिले नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनालाई सफल बनाउन निजी व्यवसायीसंग आग्रह गरेको छ ।

आर्थिक गणनाका विषयमा चेम्बर अफ कमर्श र जिल्ला आर्थिक गणना कार्यालयले संयुक्त रूपमा आइतबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा समितिका अध्यक्ष केदारनाथ शर्माले मुलुकको समृद्धिको पहल स्वरूप हुन लागेको गणना कार्यलाई सफल पार्न व्यवसायीसंग आग्रह गरेका हुन् ।

शर्माले आर्थिक गणनाको मुख्य उद्देश्य देशमा भएका सम्पूर्ण व्यवसाय नछुटाई गरिने गणना भएको भन्दै आर्थिक क्रियाकलापले देशको आर्थिक विकास र आर्थिक वृद्धिदरमा योगदान पुराउने बताए । गणनाले उद्योगहरूको योगदानको कदर गर्न सहयोग पुग्ने उनको भनाइ छ । तथ्याङपछि प्रश्न उठाउने ठाउँ नदिन र यथार्थ विवरण प्राप्त गर्न पनि व्यासायीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले प्रतिव्यक्ति आय, रोजगार, कलकारखानाको अवस्थालगायतका विषयमा जानकारी लिन आर्थिक गणना गर्न लागिएको जानकारी दिए ।

आर्थिक गणनामा देशको आर्थिक क्रियाकलापसम्बन्धी सम्पूर्ण तथ्यांक संकलन तथा टेबुल गरी व्याख्या गर्ने र निचोड निकाल्न गणना गर्न लागिएको विभागले जनाएको छ । नेपालमा भर्खरै सुरु हुन लागेको आर्थिक गणना अन्य राष्ट्रमा भने प्रयोगमा आइसकेको छ । सार्क राष्ट्रमध्ये भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानमा आर्थिक गणनाको थालनी भइसकेको छ ।