डिपिएलमा सिवाइसी अत्तरीया र महेन्द्रनगर युनाईटेडको विजयी सुरुवात

निलम महर्जन/धनगढी, १८ चैत्र । सिवाइसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले धनगढी प्रिमियर लिग डिपिएलमा विजयी सुरुवात गरेको छ ।

धनगढीस्थित नेपाल प्रहरीको एसएसपी मैदानमा आज सम्पन्न दोस्रो खेलमा विराटनगर किङ्सलाई ३३ रनले हराउँदै महेन्द्रनगर युनाईटेडले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । एक सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा एक सय ३५ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि पृथु बास्कोटाले ३५ तथा बाबर हायातले ३२ रन बनाएपनि जित भने दिलाउन सकेन ।

बलिङतर्फ महेन्द्रनगरका अभिनाश कर्णले तीन विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ् गरेको महेन्द्रनगर युनाईटेडले पुरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । महेन्द्रनगरका लागि पुनिल मेहेराले सर्वाधिक नटआउट ३८ रन बनाउँदा कप्तान विनोद भण्डारीले ३५ रन बनाए । त्यस्तै, पुनित विष्टले २४, आरिफ शेखले २० तथा हरिशंकर शाहले १९ रनको योगदान दिए । बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई विकेट लिए ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा रुपन्देही च्यालेञ्जर्सलाई नौ विकेटले हराउँदै सिवाइसी अत्तरीया पनि विजयी भएको छ । रुपन्देही च्यालेञ्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य सिवाइसी अत्तरीयाले सात ओभर तीन बलमा एक विकेट गुमाउँदै भेट्टायो । अत्तरीयालाई जित दिलाउन गौरभ चितकाराले नटआउट ३० तथा कप्तान सुवास खकुरेलले १९ रन बनाउँदा प्रेम तामाङले नटआउट १४ रनको योगदान गरे । रुपन्देहीका लागि एक मात्र विकेट जितेन्द्र मुखियाले लिएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभर दुई बलमा ६१ रन बनाउँदै अलआउट भयो । खराब सुरुवात गरेको रुपन्देहीका ओपनरद्वय प्रदिप ऐरी र सागर पुन बिना कुनै रन आउट भए । उसका लागि ओमानका खेलाडी सुफयान मेहमुदले मात्र २० रन बनाउँदै दोहोरो अंक बनाए । बलिङतर्फ कमल सिंहले चार तथा शुभांकर उराले तीन विकेट लिए । प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा सिवाइसी अत्तरीया र टिम चौराह धनगढी तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन्स् र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।