नेता खड्काको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

ललितपुर, १८ चैत्र । कांग्रेसका केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको खड्काको पार्थिव शरीरमा देउवाले पार्टीको झण्डा ओढाएका हुन् । त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायत कांग्रेस केन्द्रिय सदस्य, नेता तथा कार्यकर्ताले सानेपामा खड्काप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले खड्का नेपाली कांग्रेसको महान योद्धा र मुलुकको महान व्यक्ति भएको बताए । खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले खड्का नेपालको लोकतान्त्रिक आन्दोलनको एक सबल व्यक्ति रहेको बताए । खड्का कांग्रेसको पनि सशक्त खम्बा रहेको भन्दै पौडेलले खड्काको निधनले पार्टीलाई मात्र नभई समग्र मुलुकलाई पनि क्षति पुगेको बताए ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्टी कार्यालयमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो ।