काठमाण्डौको यी ठाउँहरूमा फ्रि वाइफाइ सेवा सुरु गरिने

काठमाण्डौ, १८ चैत्र । काठमाण्डौका ऐतिहासिक तथा पुरातात्विकलगायत केही क्षेत्रमा काठमाण्डौ महानगरपालिकाले फ्रि वाइफाइ सेवा सुरु गर्ने भएको छ ।

हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा काठमाण्डौ महानगरले फ्रि वाइफाइ सेवा सुरु गर्न लागेको हो । फ्रि वाइफाइ सेवा शुभारम्भ गर्न महानगरले आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनसंग सम्झौता गरेको हो ।

सम्झौता अनुसार वर्ल्ड लिंकले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने जनाएको छ । त्यस्तै फ्रि वाइफाइ सेवाको प्रभावकारिता अध्ययन गर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी एकाइबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ ।

सम्झौता कार्यक्रममा काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आवश्यकता अनुसार विभिन्न स्थानको अध्ययन गर्न क्षेत्र विस्तार गर्ने बताए । उनले केही समयपछि अनलाइन सेवा विस्तार पनि महानगरले तयारी गरिरहेको जानकारी दिए ।

फ्रि वाइफाइ सेवा सुरु भएपछि तोकिएको क्षेत्रमा प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वर्ल्ड लिंकले हरेक क्षेत्रमा एक्सेस प्वाइन्ट २ देखि ११ वटा सम्म राख्ने जनाएको छ ।