Breaking News

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

काठमाण्डौ, १८ चैत्र । ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ बैशाख १४ गतेदेखि काठमाण्डौमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको जनाएको हो । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ नाराका साथ सुरु हुने प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ ।

काठमाडौको भृकुटिमण्डपमा चैत्र १८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालसहित सार्क मुलुक भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीहरूको पनि सहभागिता रहने महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । गिरीले घरेलु तथा साना उद्योगहरू संकुचित हुदै गएका कारण मुलुकको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट खटेर ५ प्रतिशतमा झरेको भन्दै युवा जनशक्तिको खाचो रहेको बताए । उनले मुलुकलाई आर्थिक विकासतर्फ लैजान उत्पादनमुलक उद्यम र रोजगारमुलक उद्योगका क्षेत्रमा लगानी बढाउनुको विकल्प नभएको धारणा पनि राखे ।

महोत्सवमा दुई सय ५० स्टल रहने र २ लाख भन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने महासंघले जनाएको छ भने करिब ७ करोडभन्दा बढीको प्रत्यक्ष कारोबार गराउने लक्ष्य आयोजकले राखेको छ ।

shares