Breaking News

स्थानीय सरकारलार्इ नेता खनालको सुझाव

काठमाण्डौ, १८ चैत्र । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै अघि बढ्न स्थानीय सरकारलाई सुझाव दिएका छन् ।

युवा संघ नेपालले आइतबार काठमाण्डौमा आयोजना गरेको समृद्ध नेपाल निर्माणका लागि प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण विषयक अन्तर्क्रिया कार्यक्रममा खनालले स्थानीय सरकारले ऐन नियमको अभावमा काम गर्न नसकेको गुनासो गरेको भन्दै संविधानले दिएको अधिकारलाई प्रयोग गर्न सुझाव दिएका हुन् ।

प्रदेश र स्थानीय तहका लागि संविधानले छुट्टै अधिकार दिएको भन्दै उनले ऐन र नियम निर्माण बनाउँदै सिर्जनात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकमा आर्थिक समृद्धिको सुरुवात स्थानीय तहबाटै हुनुपर्ने भन्दै खनालले गम्भीर भएर कामकारवाही अगाडि बढाउन पनि स्थानीय प्रतिनिधिलाई सुझाव दिए । उनले विभिन्न उपलव्धीहरूमाथि छलफल गर्दै मुलुकलाई अघि बढाउनुको विकल्प नभएको धारणा पनि राखे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकबाट भ्रष्टाचारलाई न्युनिकरण गर्दै आर्थिक विकासको बाटोमा केन्द्रित हुनुपर्ने बताए । उनले सबै क्षेत्रमा देखिएको दासताविरुद्धको संघर्ष आजको आवश्यकता रहेको पनि बताए ।

कार्यक्रममा युवा संघ नेपालले संगठनबाट संसदमा प्रतिनित्व गर्ने सांसदहरूलाई सम्मान गरेको थियो ।

 

shares