डेढ महिनादेखि गाउँ बिजुलीविहीन, अँयारोमा बस्छन् स्थानीयहरू

इलाम, १८ चैत्र । डेढ महिनादेखि विद्युत् अवरोध हुँदा माईजोगमाई गाउँपालिकाको आधा क्षेत्रका बासिन्दा अन्धकारमा रात बिताउन बाध्य छन् ।  त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका २, ४, ५ र ६ वडाका करिब २५० घरधुरीका मानिस अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिए । उनका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका छ वटा पोल ढलेका थिए । नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उनको भनाइ छ ।

त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने छ । साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्ने भएकाले पनि विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्ने विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए । रासस