महिला हिंसा बढेकोप्रति सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ, १६ चैत्र । सांसदहरूले मुलुकमा महिला हिंसाका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले दिनप्रतिदिन महिला हिंसा बढिरहेको र घटनामा संलग्नहरू प्रहरीको नियन्त्रणमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद बिमला पौडेल राईले मुलुक राजनीतिक स्थायीत्व कायम गरी आर्थिक विकासको बाटोतर्फ लम्किरहँदा मुलुकमा महिलाहरू असुरक्षित हुनु दुखद भएको धारणा राखिन् । उनले सात वर्षको अवधिमा ६ हजार ६ सय २६ बलात्कारका घटना सार्वजनिक भएको भन्दै ५१ प्रतिशत महिलाहरू अझैपनि डरले बाँच्न बाध्य भएको बताइन् । उनले बलात्कारका घटनालाई रोक्न निकै संवेदनशील ढंगले काम गर्न सुझाव दिइन् ।

त्यस्तै सांसद विन्दादेवी आले मगरले महिलाहरू स्वतन्त्र भएर हिंड्डुल गर्न पाउनुपर्ने वातावरण बनाउन आग्रह गरिन् । मुलुकमा दण्डहीनता मौलाएको भन्दै यसलाई तत्काल नियन्त्रण हुनुपर्ने बताइन् ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले श्वेतपत्रका बारेमा जानकारी गराएका थिए भने विभिन्न अध्यादेश पेश गरिएको थियो ।