Breaking News

पत्रकार सुब्बा र पौडेल पुरस्कृत

झापा, १६ चैत्र । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश नम्बर १ लाई पत्रकार र सञ्चारमाध्यमको सहयोगमा समृद्ध बनाउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

६३ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार वितरण समारोहमा बोल्दै कानुन मन्त्री कार्कीले संविधान कार्यान्वयनसंगै १ नम्बर प्रदेशलाई देशकै समृद्ध राज्य बनाउन पत्रकार र सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।

प्रदेश संरचनाको बारेमा बोल्दै उनले ‘कानून र अत्यावश्यक भौतिक संरचनाको अभावले गर्दा प्रदेश सरकारलाई समस्या भइरहेको छ, कानून बनाउने विषयमा मस्यौदा समिति बनाइसकेका छौं, त्यसपछि नया कानूनकासाथ अघि बढने छौं ।’

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्ष एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट झापा पोष्ट दैनिकका सम्पादक र रासस प्रतिनिधि बिष्णु सुब्बालाई नगद २१ हजारसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कारबाट जनसंसद दैनिकका सम्पादक मुक्ति पौडेलकी धर्मपत्नी मेनुका भण्डारी (पौडेल) नगद ११ हजारसहित सम्मानपत्रले पुरस्कृत भएकी थिइन् ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना, एसएल शर्माका जेठो छोरा राजेन्द सलभ शर्मा, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीलगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले राखेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

shares