‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ संसदमा पेश

काठमाण्डौ, १६ चैत्र । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ संसदमा पेश भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अध्यादेश पेश गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो भने राष्ट्रपतिले कात्तिक २४ गते त्यसलाई प्रमाणीकरण गरेकी थिइन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भर्इ जारी भएको अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको साठी दिनभित्र स्वीकार नगरे खारेज हुने व्यवस्था छ । बैठकले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ ।

त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गरेका थिए । संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ ।