नेपालको आर्थिक तथा वित्तीय अवस्था निकै निराशाजनक: अर्थमन्त्री

काठमाण्डौ, १६ चैत्र । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको आर्थिक तथा वित्तीय अवस्था निकै निराशाजनक भएको बताएका छन् ।मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याउन लागिएको श्वेतपत्रका बारेमा शुक्रबार संघीय संसदलाई जानकारी गराउँदै उनले समग्र वित्तीय नीतिमार्फत् मुद्रा तथा पुँजीबजारको स्थायित्व र समावेशी विकासमा जोड दिने बताए ।

अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अघि बढार्इ फराकिलो आर्थिक वृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखिएको बताए । उनले जनचाहनाअनुरुप आर्थिक, सामाजिक रुपान्तरणका आवश्यक सरकारका नीति तथा कार्यक्रम तर्जुमा तथा आवश्यक कार्यान्वयन गर्ने अधिकार सरकारलाई प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

अर्थमन्त्रीका अनुसार अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै सुशासन र आर्थिक विकासमार्फत् समृद्धिको आधारचित्र तयार पार्न उपलब्ध सबै साधन, सम्भावना र स्रोत उपयोग गर्ने सरकारको योजना रहेको छ । उल्लेख्य आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्ने र यसका लागि स्वेदेशी साथै विदेशी पुँजी परिचालनका लागि अनुकूल व्यवस्थापकीय र नीतिगत सुधारको कार्य तत्काल सुरु गर्ने सरकारको योजना रहेको उनले बताए ।

प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम राजश्व परिचालन गर्न र कार्यक्रम कार्यान्वयन गर्न सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिने सरकारको योजना रहेको उनले बताए । त्यस्तै उनले वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय साधनलाई उत्पादनमुखी बनाउने र सेवा तथा गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिइने उल्लेख गरे ।