प्रधानमन्त्रीको भारत भ्रमणबारे सत्तारुढ दलकै सांसदले सदनमा मागे जानकारी

काठमाण्डौ, १६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणको एजेण्डाबारे सत्तारुढ दलकै सांसदले सदनमा जानकारी माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद प्रभु साहले प्रधानमन्त्रीले भारत भ्रमण गर्न लागेको कुरा पत्रपत्रिकामार्फत थाहा पाएको भन्दै जानकारी माग गरेका हुन् ।

प्रधानमन्त्री ओली चैत्र २३ गतेदेखि भारत भ्रमणमा जाने चर्चा चलेपनि अहिलेसम्म सरकारले औषचारिक घोषणा गरेको छैन । भारत भ्रमणको एजेण्डा पनि थाहा नभएको भन्दै साहले राष्ट्रिय सहमतिको साथ प्रधानमन्त्री भारत भ्रमणमा जानु उचित हुने उल्लेख गरे ।

यस्तै सरकारले प्रजातन्त्र दिवस र शहीद दिवसको दिनमा दिइने सार्वजनिक बिदा कटौती गरेकोप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनमा आपत्ति जनाएको छ । बैठकमा कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले सार्वजनिक बिदा कटौतीको नाममा प्रजातन्त्र दिवसको बिदा कटौती गरेको भन्दै आपत्ति जनाएका हुन् ।

यसअघि सरकारले नयाँ वर्ष २०७५ को क्यालेण्डरमा सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको थियो । बैठकमा सांसद हृदयेस त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैं तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।