Breaking News

समाज रुपान्तरणमा सञ्चार क्षेत्रको योगदान अविष्मरणीय: सभामुख

काठमाण्डौ, १६ चैत्र । सभामुख कृष्णबहादुर महराले निरङ्कुशताविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका अविष्मरणीय रहेको बताएका छन् ।

महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा सभामुख महराले पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको भन्दै समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको बताए ।

मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढंगले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्ने सभामुख महराको भनाइ छ । उनले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

त्यस्तै महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहेपनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमा र वजलाई बचाइराख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महासंघले नौजना पूर्वसभापतिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा महासंघका पूर्वसभापतिहरू होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डाक्टर सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्टुरी, शिव गाउँले र डाक्टर महेन्द्र विष्ट छन्। महासंघको विसं २०१२ साल चैत १६ गते स्थापना भएको थियो ।

shares