यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ९ जना बिचौलिया पक्राउ

निरज तामाङ/काठमाण्डौ, १६ चैत्र । यातायात ब्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई विभिन्न बाहानामा ठगी गर्ने ९ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

यातायात ब्यवस्था कार्यालय गुर्जुधारा र प्रहरी प्रभाग सतुङ्गलको समन्वयमा संचालित फिल्टर अपरेशनअन्तर्गत उनीहरूलाई उक्त कार्यालय क्षेत्र वरपरबाट बिहीबार पक्राउ गरिएको हो । काठमाडौंको गुर्जधारास्थित रहेको यातायात ब्यवस्था कार्यालयमा छिटो काम गरिदिने भन्दै सेवाग्राहीहरूलाई अनावश्यक दुख दिने तथा बढी पैसा लिएर ठग्ने गरेको जनगुनासो बढेपछि प्रहरीले उक्त अपरेशन सुरु गरेको थियो ।

प्रहरी प्रभाग सतुंगलका प्रमुख प्रहरी निरीक्षक शर्मिला गुरुङको कमाण्डमा खटिएको प्रहरी सहायक निरीक्षक गोविन्द बहादुर साउदको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जिल्ला काठमाण्डौ चन्द्रगिरी नगरपालिका-२, बाडभन्ज्याङ बस्ने ४२ वर्षीय सानु कुमार भुर्तेल, काठमाडौं जिल्ला नागार्जुन नगरपालिका-७ घर भएका वर्ष ३३ को रबिन तामाङ, जिल्ला रामेछाप ओखरेनी-७ स्थायी घर भएका वर्ष २६ का रोशन कार्की, जिल्ला मकवानपुर हाँडीखोला गाउँपालिका-३ घर भर्इ ललितपुर महानगरपालिका-१४ बस्ने वर्ष २३ को पृथ्वी कार्की रहेका छन् ।

त्यस्तै जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने वर्ष ३४ को किरण तामाङ, जिल्ला धादिङ निलकण्ठ न.पा. १४ घर भई ललितपुर सातदोबाटो बस्ने वर्ष २५ का रबी शाह, जिल्ला ललितपुर, ललितपुर महानगरपालिका २ बस्ने २५ वर्षीय शुनिल महर्जन, जिल्ला पर्सा पटेर्वा २ घर भएका वर्ष २३ का अनिल कुमार चौधरी र जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.-८ घर भएका वर्ष ३७ को अशोक कुमार बलामी रहेका छन् । उनीहरुलाई सार्वजनिक ऐन अन्तर्गत मुद्धा चलाई अनुसन्धान कार्य भइरहेको प्रहरी सहायक निरीक्षक गोविन्द बहादुर साउदले जानकारी दिए ।