Breaking News

टेलिकमको ‘नमस्ते क्रेडिट’ सापटी सेवा सुरु

काठमाण्डौ, १६ चैत्र । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवा शुभारम्भ गरे । मन्त्री बास्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा सुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा सुरु गरेको बताए ।

नेपाल टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्याको हिसाबले प्रिपेड सेवा पहिलो रहेको बताउँदै अधिकांश नेपालीले प्रयोग गरिरहेको सेवालाई गुणस्तरीय बनाउन जोड दिए । उनले टेलिकमको व्यवसायिक क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने धारणा पनि राखे ।

त्यस्तै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिएपनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने बताइन् ।

जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने भन्दै यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने टेलिकमको भनाइ छ ।

shares