काठमाण्डौको माईतिघरमा विद्यार्थीद्वारा प्रदर्शन

काठमाण्डौ, १६ चैत्र । विद्यार्थीहरूले अस्थायी शिक्षकलाई स्थायी गर्न चैत्र २३ गते तोकिएको परीक्षा स्थगन गर्न माग गर्दै शुक्रबार पनि काठमाण्डौको माईतिघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले जबर्जस्ती रूपमा परीक्षा लिन लागेको भन्दै शिक्षा ऐन नवौं संसोधनको खारेजीको माग पनि गरेका छन् । परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको भन्दै उनीहरूले खुल्ला प्रतिष्पर्धालाई सरकारले प्राथमिकता दिनुपर्नेमा माग समेत राखेका छन् ।

दक्ष युवाहरूलाई वेवास्ता गर्दै आन्तरिक प्रतिष्पर्धालाई प्राथमिकता दिनु न्यायोचित नभएको उनीहरूको भनाइ छ । सरकारले शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन अनुसार अस्थायी शिक्षकलाई स्थायी गर्न लिन परीक्षा लिन लागेको हो । विद्यार्थी संगठनहरू भने शिक्षा ऐनमा भएको नवौं संशोधन नै खारेज हुनुपर्ने माग राख्दै आन्दोलित छन् । यही विषयलाई लिएर नेविसंघ आवद्ध विद्यार्थीहरू अनसनमा छन् ।