विमानस्थल सुधार योजना: ६ वटा विमान खरिद, २१ घण्टा सञ्चालन

काठमाण्डौ, १६ चैत्र । पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजनासहितको विमानस्थल सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् ।

पर्यटन बोर्डमा शुक्रबार सय दिने कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने जानकारी दिए । साथै हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने उल्लेख गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् । आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सन्चालनको विकल्पहरू अध्ययन गर्ने उनको योजना छ ।

अन्तराष्ट्रिय आगमनका यात्रुहरूले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तराष्ट्रिय टर्मिनलमा यात्रुहरूको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने योजना पनि बनाइएको छ ।

मन्त्री अधिकारीको कार्ययोजनामा काष्ठमण्डप र रानीपोखरी निर्माणमा देखिएको विवाद तत्काल टुंगो लगाउने, आन्तरिक उडानका लागि अन्य कुनै पनि विकल्प खोजेर त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।