अस्थायी शिक्षकहरूको परीक्षा स्थगित गर्न माग गर्दै प्रदर्शन र चक्काजाम

काठमाण्डौ, १६ चैत्र । अस्थायी शिक्षकहरूको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरूले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् ।

काठमाडौं उपत्यकाका आरआर, त्रिचन्द्र लगायतका प्रमुख कलेज अगाडि बिहान करिब एक घण्टासम्म विद्यार्थीहरूले चक्काजाम गरेका थिए । विद्यार्थीको चक्काजाम र प्रदर्शनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो ।

यही चैत २३ गते हुन लागेको अस्थायी शिक्षकहरूको परीक्षा स्थगित गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले प्रदर्शन गर्दै आएका छन् । शुक्रबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेका उनीहरूको मध्यान्ह माइतीघर मण्डलामा पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको बताएका छन् ।

प्रमुख तीन विद्यार्थी संगठनहरूले १७ गतेदेखि भने आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम घोषणा गरेका छन् । एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनर्विचार गर्न निजी विद्यालयहरूको संस्था प्याब्सनले आग्रहसमेत गरेको छ ।

अस्थायी शिक्षकको परीक्षा स्थगनलगायत विविध माग राखी विद्यार्थी संगठनहरूले यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमक्ष ज्ञापनपत्र पेश गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।