गोली हानी श्रीमतीको हत्या, हत्यारा पक्राउ

काठमाण्डौ, १६ चैत्र । बाँकेमा गएराति एक महिलाको सुतिरहेको अवस्थामा गोली हानी हत्या भएको छ ।

डुडुवा गाउँपालिका ३ बनकट्टी बस्ने वर्ष ३० का सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।

गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले जानकारी दिए । कोखा र दाहिने हातमा गोली लागेपछि शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले अभियुक्त सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेकोले हत्या गरेको बयान दिएका छन् ।

हत्या सम्बन्धमा अभियुक्त सञ्जयकुमारमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।