काम, क्रोध, लोभ, मोह छाडेर भगवान महावीर दुनियाँमै लोकप्रिय: मुख्यमन्त्री राउत

राम कुशवाहा/वीरगंज, १५ चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले काम, क्रोध, लोभ, मोह छाडेर भगवान महावीर दुनियाँमै लोकप्रिय भएको बताएका छन् ।

अहिंसाको अग्रदूत भगवान महावीर को २६१७ औं जन्म जयन्तिको अवसरमा आज वीरगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भगवान महावीरको दर्शन र सिद्धान्तलाई आत्मसाथ गर्न सके शान्ति अमनचयन र सुशासन आउने कुरामा जोड दिए ।

उनले प्रदेश न.२ मा सुरक्षाको सवाल निकै चुनौतिपूर्ण रहेको बताउँदै संघीयतामा प्रदेशले नै निजामती र प्रदेश प्रहरी राख्न सक्ने प्रावधान रह्यो भने मात्र प्रदेशको सुशासन र सुरक्षा राम्रो हुने कुरामा जोड दिए । उनले प्रदेश नम्बर २ ले मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाउ बेटी पढाउ अभियानलाई प्रथमिकतामा राखेको बताउँदै प्रदेशमा स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, पर्यटन, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

कार्यक्रममा भौतिक निर्माण तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले राजनीतिक स्वार्थभन्दा माथि उठेर प्रदेश नम्बर २ को समृद्धिका लागि सबै दल उद्योगी व्यवसायी जुट्नु पर्ने कुरामा जोड दिए ।

जैन श्वेताम्बर तेरापन्थ सभाका रन्जीत कुमार जैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जैन स्वेताम्बर तेरापन्थ महासभाको राष्ट्रिय प्रभारी अशोक वैद्य, प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रागिनी वर्णवाल, भारतीय महावाणिज्य दुत वि.सि. प्रधान, प्रोफेसर अनिल सिन्हा, लगायतको वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।