Breaking News

शुक्रबारदेखि गुल्मी महोत्सव सुरु,  परराष्ट्र मन्त्रीले उद्घाटन गर्ने

शिवलाल सुवेदी/गुल्मी, १५ चैत्र । “गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास,शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” भन्ने मुल उद्देश्यका साथ सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पुरा भएको छ ।

कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पूरा भएको हो । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मुल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवको उदघाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली महोत्सव मूल आयोजक समिति संयोजक एवं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामाग्रीहरूलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जाँतोलगायत लोप उन्मुख हुन लागेका विभिन्न पुराना सामाग्रीहरू प्रर्दशन गरिने भएको छ । विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरूसँगै गुल्मी जिल्लामा रहेका विभिन्न जातजातिका खानाका परिकारहरू विभिन्न सँस्कृति झल्कीने झाँकीहरू पनि प्रर्दशन गरिने भएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकता दिइने भएको छ ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा १ लाख ५० हजार भन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । महोत्सवबाट १२ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्नको लागि आगन्तुकहरूलाई स्वागत गर्न भन्दै तम्घास बजारबासीले आफनो घर अगाडि स्वागत ब्यानरहरूसमेत राखेका छन् ।

महोत्सवमा २ सय ७० स्टल रहने भएका छन् । कुल स्टल मध्ये ४० वटा स्टलहरूमा कृषि जन्य उत्पादित सामग्रीहरू तथा बीउ बिजनहरू, बाँस तथा निगालो, सेरामिक्सबाट बनेका सामग्रीहरू राखिने भएको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बीरेन्द्र भुसालले जानकारी दिए । महोत्सवलाई थप आकर्षण गर्नका लागि हेलीकप्टरवाट जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न पाउने समेतको ब्यवस्था गरिएको छ । महोत्सवलाई जिल्लाको प्रतिष्ठानको रूपमा लिइएकोले यसको सफलताको लागि सम्पूर्ण क्षेत्र, वर्ग, लिङ्ग, समुदाय, तह र सरोकारवाला आम नागरिक समुदायसँग सहयोग, सद्भाव र सहभागिताको लागि तेस्रो गुल्मी महोत्सव मूल आयोजक समितिले अनुरोध गरेको छ ।

shares