Breaking News

सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको कांग्रेसको ठहर

काठमाण्डौ, १५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको ठहर गरेको छ ।

बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको ठहर गर्दै सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरेको छ । प्रतिपक्षी कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी तीनवटै चरणको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनपछि पनि सेयर बजार निरन्तर ओरालो लागेको भन्दै चिन्ता पनि व्यक्त गरेको छ ।

लामो राजनीतिक संक्रमणकालको अन्त्य भएर तुलनात्मक रूपमा सहज राजनीतिक अवस्था बनेको समयमा सेयर बजार ओरालो लाग्नु देशका लागि शुभ संकेत नभएको कांग्रेसले ठहर गरेको छ । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन भएपछि शेयर ओरालो लागिरहेको भन्ने बारेमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको जिकिर गर्दै यसलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरे ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । उनीहरूले उम्मेद्वारी चयनका विषयमा उठेका कुराहरूको खण्डन गर्दै सभापति देउवाको बचाउ गरे । पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले चुनावको समयमा टिकट खरिद बिक्री भएको दाबी गर्दै छानबिनको माग गरेपछि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले त्यसको खण्डन गरेका हुन् । शुक्रबार बिहान ११ बजेबाट फेरि केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

shares