अब कुनै पनि बहानामा मुलुक द्वन्द्वमा जान नहुने राष्ट्रपतिको धारणा

काठमाण्डौ, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने धारणा राखेकी छिन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्नेमा समेत जोड दिइन् । समतामूलक, समाजवाद उन्मुख र सम्बृद्ध तथा लोकतान्त्रिक नेपालको स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

उनले गौरवशाली स्वाधीन इतिहासको स्मरण गर्दै देशभक्त बहादुर जनताको देश भएपनि शासकीय र व्यवस्थापकीय कमजोरीले पछाडि परेको जिकिर गरिन् । नेपाली युवा योजगारीलाई विदेश पलायन भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले युवा ऊर्जा र जाँगरको देशका लागि प्रयोग गर्नुपर्ने पनि बताइन् ।

निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।