Breaking News

अझै रोकिएन भक्तपुरमा विद्युत चुहावट

भक्तपुर, १५ चैत्र । भक्तपुरमा अझै पनि २० प्रतिशत विद्युत चुहावट हुँदासम्म प्राधिकरणले चुहावट नियन्त्रण गर्न सकेको छैन । भक्तपुरमा गत माघ महिनामा मात्रै ५९ लाख ७६ हजार ८ सय २६ युनिट विद्युत खपत हुदाँ ४९ लाख ८१ हजार २ सय १ युनिट मात्रै भक्तपुर वितरण केन्द्रबाट बिक्री गरेको तथ्यांक नेपाल विद्युत प्राधिकरण भक्तपुरले जनाएको छ ।

बाँकी ९ लाख ९५ हजार ६ सय २५ युनिट अर्थात २० प्रतिशत विद्युत चुहावट अझै भएको तथ्याङकले स्पष्ट पारेको प्राधिकरणले जनाएको छ । यसले गर्दा सरदर विद्युत प्रति युनिट १० रूपैयाँको दरले माघ महिनामा मात्रै ९९ लाख ५६ हजार २ सय ५० रूपैयाँ घाटा भएको भक्तपुर प्रधिकरणका प्रमुख प्रज्वलमान श्रेष्ठले बताए ।

त्यस्तै प्राधिकरणले पुस महिनामा एक करोड ६४ लाख दश हजार ४ सय ९०, मंसिरमा एक करोड ११ लाख २० हजार ७० रूपैयाँ घाटा व्यहोरेको छ । यसैगरी प्राधिकरणका अनुसार कार्तिकमा ७४ लाख ५० हजार ४ सय ५०, असोजमा एक करोड ९ लाख ७७ हजार ५ सय ८०, भदौमा ९७ लाख ५२ हजार ४ सय १० तथा साउनमा १ करोड ११ लाख ९ सय १० रूपैयाँ घाटा रहेको छ ।

प्राधिकरणका इन्जिनियर राजमान श्रेष्ठले प्राधिकरणमा दक्ष जनशक्ति अभाव, दरबन्दी अनुसार कर्मचारी अपुग भएकाले विद्युत चुहावटमा नियन्त्रण गर्न नसकिएको स्पष्ट पारे । भक्तपुरमा अधिकांस चुहावट घना बस्तीमा मिटरको सील नै बिगारेर गर्ने गरेको तथा ग्रामीण क्षेत्रमा हुकिङ गरेर विद्युत चुहावट हुने गरेको भक्तपुर वितरण गरेको उनले जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार भक्तपुरमा पुरानो नगर क्षेत्र वाहेक नगरकोट र नलिन्चोक फिडरमा वढी विद्युत चुहावट हुने गरेको छ ।

यस वर्षको गत फागुन महिना सम्म १ सय ७२ जना ग्राहकले चुहावटको कारवाहीमा परी ४ करोड ७० लाख रूपैयाँ जरिवाना गराएको प्राधिकरणले जनाएको छ । गत वर्ष विद्युत चुहावट दर ३९ प्रतिशत रहँदा चुहावट नियन्त्रणका क्रममा ३ सय १७ ग्राहक कारवाहीमा परेका थिए ।

shares