‘महिलाले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्नु अबको चुनौती’

काठमाण्डौ, १५ चैत्र । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजनीतिक तहमा महिलाले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्नु अबको चुनौती रहेको बताएकी छिन् ।

जागरण नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको लैंगिक कानूनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले निकै लामो संघर्षबाट महिलाको अधिकार प्राप्ति भएको र राज्यका सबै अंगमा महिलाको प्रतिनिधित्वसमेत भएको भन्दै यो उपलव्धीलाई जोगाउनुपर्ने बताइन् ।

सरकार , संसद , प्रदेश तथा स्थानीय तहमा रहेका महिला प्रतिनिधिले आफ्नो कार्यकौशलता प्रस्तुत गर्दै अघि बढ्दै सबैका लागि उदाहरणीय पात्र बन्नुपर्ने उनको भनाइ छ । उनले सरकारको आगामी नीति तथा कार्यक्रममा महिलामैत्री स्वास्थ्यका कार्यक्रम तर्जुमा गर्ने तयारी आफ्नो रहेकोसमेत बताइन् ।

कार्यक्रममा केन्द्रिय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई सम्मान गरिएको थियो ।