क्रिकेट बल टेम्परिङ काण्डमा दोषी ठहरिएका ३ अस्ट्रेलियन क्रिकेटर कारबाहीमा

काठमाण्डौ, १५ चैत्र । क्रिकेट बल टेम्परिङ काण्डमा दोषी ठहरिएका अस्ट्रेलियन क्रिकेटरत्रय स्टेभिन स्मिथ, डेभिन वार्नर र क्यामरन बेनक्रफ्ट स्वेदश फर्किएका छन् ।

बुधबार दक्षिण अफ्रिकाबाट स्वदेश फर्कने क्रममा स्मिथलार्इ अाम दर्शकले ‘चिटर, चिट’ जस्ता शब्द प्रयोग गरी गाली दिएका थिए । कडा सुरक्षाकाबीच स्मिथ जोहानेसवर्ग एयरपोर्टमा पुगेका थिए ।

दक्षिण अफ्रिका विरुद्धको टेस्टको तेस्रो दिन शनिबार भएको खेलमा उनीहरूले बल कोट्याएर स्वरूप बिगार्दा ब्याट्सम्यानलाई खेल्न अप्ठ्यारो हुने कारण बल टेम्परिङ गरेका थिए । सो घटनापछि तत्कालै क्रिकेट अस्ट्रेलियाले स्मिथ र वार्नरलाई अस्ट्रेलियाको कप्तान र उपकप्तानबाट हटाएको थियो ।

ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टका दौरान बल कोट्याएर स्वरुप बिगारेको टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रूपमा सार्वजनिक भएको थियो । बलिङमा ‘स्विङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रूपमा टेम्परिङ भएको खुलेपछि उनीहरूमाथि कारबाही गरिएको हो ।

यता वार्नरले अस्ट्रेलिया पुगेपछि खेल भावना विपरितको काम गरेकोमा माफि मागेका छन् । उनले आफुले गल्ति गरेको स्वीकार गर्दै माफी मागेका छन् । उनले अहिले आफू आराम गर्न चाहेको भन्दै पछि आधिकारिक धारणा राख्ने बताएका छन्।

स्मिथलाई  र वार्नरलाई १–१ वर्ष तथा बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको छ । साथै स्मिथलाई २ वर्ष र वार्नरलाई आजिवन कप्तान बन्न पनि रोक लगाइएको छ। अस्ट्रेलियन क्रिकेटले अनुसन्धानपछि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रतिबन्धसँगै स्मिथ र वार्नले अागामी साताबाट सुरु हुने आइपिएल पनि खेल्न नपाउने भएका छन् । स्मिथ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदरावादमा अनुबन्धित भएका थिए । दुवै खेलाडी टिमका कप्तान थिए ।