राष्ट्रपतिले संघीय संसदमा अाज पहिलो सम्बोधन गर्ने

काठमाण्डौ, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठकलाई पहिलो पटक आज सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेको संघीय संसद्को संयुक्त ऐतिहासिक बैठकलाई दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने भएको हो । राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद भवनसम्म बग्गीमा सवार हुने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष लगायतले राष्ट्रपतिलाई स्वागत गर्ने जनाइएको छ ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची तय गरिएको छैन ।