जनप्रतिनिधिले राहत रकम वितरणमा भेदभाव गरेको बाढी पीडितको गुनासो

मोरङ, १५ चैत्र । मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको गुनासो गरेका छन् ।

बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नाता पर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप लगाए ।

जहदा गाउँपालिकाका वडाअध्यक्ष यादवले वास्तविक बाढी पीडितहरूलाई राहत रकम नदिएर कमिशनका लागि आफूखुुशी रकम वितरण गरेको भन्दै स्थानीयवासीले अख्तियारमा समेत उजुरी गरेका छन् ।

गत साउनको अन्तिम साता आएको बाढीबाट क्षति भएकाको राहतका लागि नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो । राहत वितरण कार्यमा जनप्रतिनिधिले नै गलत कार्य गर्न थालेपछि कतिपय स्थानमा राहत वितरण अन्यौलमा परेको छ ।

वास्तविक बाढी पीडितलाई राहत दिनेभन्दा राजनीतिक आस्थाका आधारमा राहत वितरणको तयारी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्थानीय सुुरेन राजवंशीले वडाअध्यक्षले रु १५ हजार राहत दिनका लागि रु १० हजारसम्म कमिशन लिने गरेको गुुनासो गरे । सोही ठाउँका कलानन्द ऋषिदेवले बाढीले सबै घरबार बगाउँदासमेत अहिलेसम्म कुनै राहत नपाएको गुनासो व्यक्त गरे ।

एक नम्बर वडामा लिएको तथ्यांक अनुुसार बाढीबाट ३६५ घर पूर्णक्षति र ५०२ घर आंशिक क्षति भएको थियो । – रासस