Breaking News

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप: थ्रीस्टार सेमिफाइनलमा

रुपन्देही, १४ चैत्र । तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो क्वाटर फाइनल खेलमा रुस्लान थ्रीस्टारले हिमालय एप्सीमाथि २–१ गोलको रोमाञ्चक जित निकाल्दै सेमिफाईनलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग भेट पक्का गरेको छ ।

बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित समाप्त भयो । पहिलो हाफमा थ्रीस्टारले चार अवसरहरूलाई गोलमा परिणत गर्न सकेन भने पाहुना टिम हिमालय एप्सीको एउटा सुन्दर अवसर (हेड प्रहार) पोलमा लागेर बाहिरिएको थियो ।

दोश्रो हाफको ८४ औं मिनेटमा मलेसिया हिमालय एप्सीका तिर्थ बस्नेतले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए । थ्रीस्टारका लावलले ८६ औं मिनेटमा गोल गर्दै १–१ गोलको अवस्थामा ल्याए । निर्धारित ९० मिनेटको अतिरिक्त समयमा गोल गर्दै म्यान अफ द म्याच मार्टिनले थ्रीस्टारलाई २–१ गोलको जित दिलाए । उनले ९२औं मिनेटमा गोल गरेका थिए ।

रेफ्रीले ३ वटा पहेलो कार्ड थ्रीस्टारका खेलाडीले फाउल खेलेबापत प्रयोग गरेका थिए । रुपेश केसीले ३४ औं मिनेट, बिष्णु गुरुङले ६३ औं मिनेट र लावलले ८८ अौं मिनेटमा पहेंलो कार्ड पाएका थिए ।

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ७ लाख ५० हजार र सेमिफाइनलमा प्रवेश गर्ने टिमले जनही ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार नगद प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट क्षेत्ररक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड १४ लाख रहेको छ । बिहीबार नेपाल पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्यार्दीबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

shares