ट्यांकर दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

यमन दनुवार/उदयपुर, १४ चैत्र । उदयपुरको कटारी–घुर्मि सडक खण्डको गँहुबारीमा आज ट्यांकर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

कटारीदेखि घुर्मितर्फ तेल बोकेर जाँदै गरेको ना. ६ ख ३२३१ नम्बरको ट्यांकर कटारी नगरपालिका वडा न. ११ को गँहुबारी सुथतीको घुम्तिमा सडकभन्दा करिब १०० मिटर तल खस्दा बारा अमलेखगञ्ज–४ बस्ने २३ वर्षीय पुरणप्रसाद खनाल र मकवानपुर नामटार बस्ने ३१ वर्षीय सरोज मोक्तानको घटनास्थलमै र अभिषेक तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भक्तपुरका सुभाष तामाङ्ग र दोलखा चरिकोटका सुजन गोलेको उपचार काठमाडौंमा भइरहेको प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले बताए ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।